गुलरिया (बर्दिया)। बर्दियामा लागु औषध कारोबारविरुद्ध प्रदर्शनरत स्थानीय र प्रहरीबिच झडप हुँदा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका छन्।
नेपालगन्ज–गुलरिया सडक खण्ड अवरुद्ध भएको अवस्थामा त्यसलाई खुलाउन पुगेको प्रहरी र प्रदर्शनकारीबिच तनाव बढेपछि प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो। गुलरिया नगरपालिका–११, गणेशपुरमा भएको झडपमा नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका तीन गरी १० जना घाइते भएका छन्। घाइतेमध्ये प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर रहेको छ।
स्थानीय आक्रोशको कारण दुई युवकको लागु औषध ‘ओभरडोज’ का कारण मृत्यु भएको हो। मृतकहरू गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिक रहेका स्थानीयले जानकारी दिएका छन्। प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि पुष्टि हुनेछ।
केही दिनयता भारतबाट भित्रिएको ब्राउन सुगर र कोरेक्सजस्ता लागु औषध सेवनका कारण एउटै परिवारका दुई जनाको ज्यान गएपछि स्थानीयले सीमा नाका बन्द गरी लागु औषध कारोबारमाथि कारबाही गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका थिए। पूर्ववडाध्यक्ष रामनारायणप्रसाद केशरीले भारतीय सीमावर्ती बजार लौकाही हब बन्दै गएको भन्दै नाका बन्द गरी कारबाही गर्नुपर्ने बताएका छन्।




