काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास खाली गर्ने तयारी अन्तिम चरणमा पुर्याएकी छन्। उनी आफ्नो निजी निवास धापासीमा सर्ने क्रममा अधिकांश सामान सारिसकेकी छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार अब केही दिनका लागि आवश्यक पर्ने सीमित सामग्री मात्र बालुवाटारमा बाँकी रहेको छ। “१३ गतेभित्रै निजी निवासमा सर्ने तयारी छ,” उनले जानकारी दिए।
राष्ट्रपति भवनमा नयाँ प्रधानमन्त्रीलाई स्वागत गरेपछि उनी स्वतः पदमुक्त हुने र त्यसलगत्तै निजी निवासतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
नयाँ प्रधानमन्त्रीले शपथ ग्रहणपछि सोझै बालुवाटार प्रवेश गर्न चाहेमा सरकारी निवास पूर्ण रूपमा खाली भइसकेको हुने रावलले बताए।
केही समयदेखि प्रयोगमा नरहेको धापासीस्थित निजी घरमा जमेको फोहोर सरसफाइ गरी बस्न योग्य बनाइसकिएको उनले जानकारी दिए। एक सातासम्म सरसफाइ र व्यवस्थापनको काम गरी अहिले घर बस्नका लागि तयार अवस्थामा रहेको बताइएको छ।




