देश

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी। जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ । दोगडाकेदार गाउँपालिका–३ का पुरुषको घुडामुनिको दुवै हड्डीको सानो चिराबाट हाडजोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै उक्त सेवा सुरु भएको हो ।

सानो चिरा (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) पारेर गरिने शल्यक्रिया सफल भएको हो । सानो चिरा पारेर गरिने शल्यक्रिया यहाँका लागि पहिलो शल्यक्रिया भएको जिल्ला अस्पतालका चिकित्सक अरविन्द जोशीले जानकारी दिए । ‘हामीले हाडजोर्नीको जटिल शल्यक्रिया अस्पतालमा गर्न सफल भएका छौँ । यसले यहाँका सेवाग्राहीलाई सहज हुने भएको छ’, उनले भने ।

यसअघि हाडजोर्नी रड राखेर मात्रै शल्यक्रिया गरिने जनाउँदै उनले सानो चिराबाट शल्यक्रिया गर्न सकिने डा जोशीले बताए । हाडजोर्नी विषेशज्ञ डा दीपेन्द्र भण्डारी र जनरल फिजिसियन जोशीलगायत टोलीले शल्यक्रिया गरेका हुन् । हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएसँगै बिरामीले कम खर्चमै जिल्ला अस्पतालमा नै यो सेवा पाउने छन् ।

जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत रहेका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *