काठमाडौं। अमेरिका र इरानबीच सप्ताहान्तमा भएको वार्ताले मध्यपूर्वमा शान्ति कायम गर्ने सम्भावना बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रचनात्मक वार्ताका कारण तत्काल पावर प्लान्टमाथि आक्रमण स्थगित गरिएको जानकारी दिएका छन्।
सीएनएनका अनुसार ट्रम्पले वार्तामा “अमेरिका र इरानले विगत दुई दिनयता रचनात्मक वार्ता गरेको छु, र यो प्रक्रिया मध्यपूर्वमा पूर्ण शान्तिका लागि सकारात्मक छ” भनेका छन्। उनले युद्ध विभागलाई कम्तीमा ५ दिनका लागि इरानी ऊर्जा पूर्वाधारमाथि कुनै आक्रमण नगर्न निर्देशन दिएका छन्।
यसअघि ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमाथि ४८ घण्टे अल्टिमेटम दिँदै आक्रमण गर्ने तयारीमा रहेको चेतावनी दिएका थिए। इरानले हर्मुज घाँटी नखोले आक्रमण गर्ने प्रतिक्रिया जनाइसकेको थियो।
ट्रम्पको पछिल्लो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा प्रतिक्रिया देखिएको छ। बीबीसीका अनुसार ब्रेन्ट क्रुड तेलको मूल्य १३ प्रतिशत घटेर ९६ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ भने एफटीएसई १०० इन्डेक्स ०।५ प्रतिशतले उकालो लागेको छ। ग्यास मूल्यमा समेत उल्लेखनीय गिरावट आएको छ।
विशेषज्ञहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुनुले तेल आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक असर पार्नेछ। ट्रम्प–इरान वार्ता आगामी दिनमा पनि निरन्तर हुने अपेक्षा गरिएको छ।




