देश

भृकुटीमण्डपमा सम्पन्न पुष्प मेला : ६० हजार दर्शक, १.२२ करोडको कारोबार

काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो आर्थिक तथा सहभागिताका दृष्टिले सफल देखिएको छ। फ्लोरिकल्चर एशोसिएशन नेपाल को आयोजनामा भृकुटीमण्डपमा सम्पन्न मेलाले कुल एक करोड २२ लाख ६० हजार रुपैयाँको कारोबार गर्न सफल भएको हो।

चैत ५ गतेदेखि सुरु भएको प्रदर्शनीमा चार दिनको अवधिमा ६० हजार ७०० दर्शकले अवलोकन गरेका थिए। आयोजकका अनुसार पहिलो दिन ९ हजार ५०० आगन्तुकले मेला अवलोकन गर्दा २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो। दोस्रो दिन १७ हजार ५०० दर्शक उपस्थित हुँदा २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो।

तेस्रो दिन सबैभन्दा बढी २१ हजार ५०० दर्शक सहभागी भएका थिए, जसबाट ३९ लाख ८० हजार रुपैयाँको कारोबार भएको जनाइएको छ। अन्तिम दिन १२ हजार २०० जनाले मेला अवलोकन गर्दै ३१ लाख ८० हजार रुपैयाँ बराबरको व्यापार भएको आयोजकले जानकारी दिएको छ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा विभिन्न विधाका ८३ वटा स्टल राखिएका थिए। तीमध्ये व्यावसायिक, अफिसियल, प्रतिस्पर्धात्मक, खाद्य तथा अन्य प्रदर्शनी स्टलहरूले दर्शकको ध्यान आकर्षित गरेका थिए।

नेपालमा पुष्प व्यवसाय विस्तार हुँदै गएको छ। हाल ५२ जिल्लामा फैलिएको यस क्षेत्रमा करिब आठ अर्ब ८३ करोड रुपैयाँ लगानी रहेको छ भने ५३ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

यस्तै, पछिल्लो समय पुष्पजन्य वस्तुको आयातमा गिरावट आएको छ भने निर्यातमा वृद्धि देखिएको छ, जसले स्वदेशी उत्पादनप्रति बढ्दो आकर्षणलाई संकेत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *