देश

संसद् अधिवेशनका लागि तयारी पूरा,बहुउद्देश्यीय कक्षबाटै अधिवेशन सञ्चालन हुने

काठमाडौँ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको छ। निर्माणाधीन संसद् भवन समयमै तयार हुन नसकेपछि नयाँ भवनभित्रकै बहुउद्देश्यीय कक्षलाई अस्थायी सभाकक्षका रूपमा प्रयोग गर्ने तयारी गरिएको हो।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने भएकाले चैत १२ गते शपथग्रहण कार्यक्रम गर्ने योजना बनाइएको छ। हाल उक्त कक्षमा सिट व्यवस्थापन सम्पन्न भइसकेको छ भने माइक, क्यामेरा र स्क्रिन जडानको काम अन्तिम चरणमा पुगेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार प्रतिनिधि सभाको बैठकसँगै आवश्यक परेमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन गर्न सकिने गरी पूर्वाधार तयार गरिएको छ।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि हाल सभाकक्षको अभाव भएको हो। यता सिंहदरबार परिसरमा करिब पाँच अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन सकेको छैन। हालसम्म उक्त आयोजनाको भौतिक प्रगति करिब ९३ प्रतिशत पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *