ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा आइतबार बिहान पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना मजदुर घाइते भएका छन्।
चैत ८ गते बिहान करिब १०:१० बजे इट्टाभट्टामा काम गर्ने क्रममा अचानक पर्खाल भत्किँदा मजदुरहरू पुरिएका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य गरेको थियो।
उद्धारपछि घाइतेहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा रुकुम घर भई सोही इट्टाभट्टामा कार्यरत ५५ वर्षीया तिल्सरी खड्काको बिहान १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये २७ वर्षीया जानकी चन्दको अवस्था गम्भीर रहेको छ। उनको दुवै हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ र थप उपचारका लागि मोडल अस्पतालमा रिफर गरिएको छ। अन्य घाइतेहरूमा सल्यानकी २७ वर्षीया शान्ती कुवर, रोल्पाकी ४६ वर्षीया नन्द कुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




