चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना प्रहरी कर्मचारीलाई आन्तरिक पर्यटनमा सहभागी गराउने उद्देश्यसहित सञ्चालन गर्दै आएको ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ। युवापुस्ताको जेनजी आन्दोलन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरीलाई फरक–फरक भूगोलमा पठाई त्यहाँका पर्यटकीय गन्तव्य अवलोकन गराइन्छ। यसबाट एकातर्फ प्रहरी कर्मचारीले नयाँ स्थानको अनुभव हासिल गर्नेछन् भने अर्कोतर्फ आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार्यक्रमले प्रहरीको तनाव व्यवस्थापन, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता, आपसी भाइचारा अभिवृद्धि तथा अनुभव आदानप्रदानमा सहयोग पुर्याउँदै आएको छ। कार्यक्रमअन्तर्गत डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङजस्ता गतिविधि गराइनुका साथै चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा समेत सहभागी गराउने गरिएको छ।
यसका साथै प्रहरी कर्मचारीलाई छिमेकी जिल्लाका पर्यटकीय स्थलमा समेत भ्रमण गराई त्यहाँको भौगोलिक, सामाजिक र सांस्कृतिक जानकारी हासिल गर्ने अवसर प्रदान गरिँदै आएको छ। आलोपालो प्रणालीमा सञ्चालन हुने यस कार्यक्रमबाट प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
करीब एक वर्षअघि सुरु गरिएको यो कार्यक्रमले प्रहरीलाई पुनर्ताजगी प्रदान गर्नुका साथै सरुवा भएर नयाँ स्थानमा जाँदा आवश्यक भौगोलिक ज्ञान हासिल गर्न समेत मद्दत पुगेको प्रहरी उपरीक्षक पुरीले बताए।
हाल जिल्ला प्रहरी कार्यालय चितवनअन्तर्गत करिब नौ सय प्रहरी कार्यरत छन्। जिल्ला ट्राफिक कार्यालय, आठ वटा इलाका कार्यालयसहित ७३ वटा युनिटमार्फत जिल्लामा सुरक्षा सेवा प्रदान हुँदै आएको छ।




