नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचान बोकेको मुलुक हो। तर यही विविधता कहिलेकाहीँ संवेदनशीलतामा रूपान्तरण हुँदा समुदायबीचको सम्बन्धमा तनाव देखिने गरेको छ। पछिल्लो उदाहरणका रूपमा कपिलबस्तुमा देखिएको हिन्दू–मुस्लिम विवादले फेरि एकपटक धार्मिक सहिष्णुताको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। शनिबार बिहानदेखि सुरु भएको विवाद अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। इद मनाइरहेका मुस्लिम समुदाय र चैते दशैँको तयारीमा रहेका हिन्दू समुदायबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो। झडप नियन्त्रणका क्रममा प्रहरीले हवाई फायर गर्नुपरेको थियो भने कम्तीमा तीन जना घाइते भएका छन्।
घटनापछि स्थानीय प्रशासनले महाराजगञ्ज क्षेत्र आसपास निषेधाज्ञा जारी गरेको छ। कपिलबस्तु जिल्ला प्रशासनको पहलमा अहिले सर्वदलीय तथा सर्वपक्षीय छलफल जारी छ, तर विवादको दीर्घकालीन समाधान अझै अनिश्चित देखिन्छ। प्रारम्भिक जानकारी अनुसार मस्जिदमा नमाज भइरहेको समयमा नजिकैको मन्दिरमा डिजे बजाइएको विषयले विवाद चर्किएको हो। धार्मिक गतिविधि र सांस्कृतिक अभ्यासबीच समन्वयको अभावले सानो विषयलाई पनि ठूलो द्वन्द्वमा रूपान्तरण गर्न सक्छ भन्ने यस घटनाले देखाएको छ। विश्लेषण गर्दा, यस्तो विवाद केवल स्थानीय असमझदारीको परिणाम मात्र होइन। यसले राज्यको स्तरमा धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने नीतिहरू कत्तिको प्रभावकारी छन् भन्ने प्रश्न उठाउँछ। समुदायबीच विश्वासको कमी, संवादको अभाव र राजनीतिक स्वार्थले पनि यस्ता घटनालाई थप जटिल बनाउने गरेको देखिन्छ।
अर्कोतर्फ, मन्दिर र मस्जिदमा तोडफोड हुनुजस्ता घटनाले सामाजिक सद्भावमा गहिरो चोट पुर्याउँछन्। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षात्मक कदम मात्रै पर्याप्त हुँदैनन्ः दीर्घकालीन रूपमा शिक्षा, जनचेतना र सहअस्तित्वको संस्कृतिलाई मजबुत बनाउनुपर्ने देखिन्छ। नेपालको संविधानले धार्मिक स्वतन्त्रता सुनिश्चित गरेको भए पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन चुनौतीपूर्ण बनेको छ। विविधता भित्रको एकता कायम राख्न राज्य, समुदाय र नागरिक सबैको साझा जिम्मेवारी आवश्यक हुन्छ। कपिलवस्तुको घटना केवल एउटा जिल्लाको समस्या होइन, यो राष्ट्रिय स्तरमै सोच्नुपर्ने विषय हो। यदि समयमै संवेदनशील ढंगले समाधान खोजिएन भने यस्ता विवाद दोहोरिरहने खतरा रहन्छ। त्यसैले तत्काल शान्ति स्थापनासँगै दीर्घकालीन रूपमा धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने ठोस रणनीति आवश्यक देखिन्छ।




