काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कम आँक्न सकिने छैन बताएका छन्। आइतबार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले भने, नेविसंघको भूमिका नेपालको इतिहाससँग जोडिएको छ र यसलाई अलग गरिँदा इतिहास अधुरो हुने खतरा हुन्छ।
वि.सं. २०२७ सालमा पञ्चायती कालमा विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलन सुदृढ पार्न र प्रजातन्त्र पुनःस्थापना गर्न नेविसंघ स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टीभन्दा बढी यसले बलिदान दिएको उल्लेख गरे। उनले पछिल्लो समय नेविसंघका गतिविधि पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताए।
महामन्त्री घिमिरेले मुलुकमा ४० वर्षमुनिका झन्डै १ करोड २० लाख युवा रहेको तथ्य उल्लेख गर्दै कुनै पनि दलले यस जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताए। उनले नेविसंघ र अन्य भ्रातृ संस्थाका विषयमा पार्टीले समयमै संस्थागत निर्णय गर्ने र अझ प्रभावकारी भूमिकासँग अघि बढाउने निर्देशन दिने जानकारी पनि दिए।
यसैबीच, आइतबार बिहान नेविसंघका कार्यकर्ताले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भइरहेको र वर्तमान नेतृत्वद्वारा सञ्चालित घटनाले संगठन र पार्टी दुवैको गरिमामा आँच पुर्याएको भन्दै ज्ञापन पत्र बुझाएका छन्। कार्यकर्ताहरूको अनुसार गणपूरक संख्याको न्यूनतम उपस्थिति नभएको बैठकको निर्णय अवैधानिक हुने ठहर छ।




