देश

घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ ।

पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा. चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ ।

अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख डा. चेवनराज कार्कीले बताए।

घरै बसेर स्वास्थ्यलाभ गरिरहेका क्यान्सरका बिरामीका लागि होम केयरले प्रदान गर्ने उपचार सेवा वरदान सावित हुने गरेको छ । जुनसुकै समयमा खबर आउनासाथ होम केयरको चिकित्सा टोली आवश्यक उपकरण र औषधिसहित बिरामीको घरमै पुग्ने गरेको उनले बताए ।

होम केयरको चिकित्सा टोलीमा अनुभवी चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट र कर्मचारी प्रत्यक्ष रूपमा जोडिएका छन् । जिल्लाको विभिन्न सहरका स्थानीय अनुभवी नर्स र हेल्थ असिस्टेन्टहरू होम केयरको नेटवर्कमा जोडिएको हुँदा जुनसुकै बेला र अवस्थामा जहाँ पनि उपचार पुर्याउन सहज भएको उनले जानकारी दिए।

टोलीले एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायतका सेवा घरमै उपकरण पुर्याएर दिने गरेको छ भने रगत, पिसाब, दिसालगायत जाँच ‘सेम्पल’ लिएर प्रयोगशालामा जाँच गरी घरमै रिपोर्ट उपलब्ध गराउँदै आएको छ । “यो एकप्रकारको घरमै अस्पताल पुर्याउने प्रयास हो”, डा. कार्की भन्छन्, “शल्यक्रियापछि लामो समय अस्पताल बसेर घर फर्किएका बिरामीलाई सानो विषयमा पनि पटकपटक अस्पताल धाइरहनुपर्ने झन्झट नहोस् भनेर हामीले घरमै अस्पतालको सेवा पुर्याएका हौँ ।”

रोजगरीका क्रममा छोराछोरी टाढा रहेको परिवारका वृद्धावस्थाका बुबाआमा बिरामी पर्दा एम्बुलेन्स खोजेर अस्पताल पुर्याउने र कुरुवा बस्ने आफन्त तत्काल पाउन पनि कठिनाइ पर्न सक्छ । यस्तो अवस्थामा होम केयरको सेवा झनै प्रभावकारी हुने गोमेन्द्र महाविद्यालयका अध्यापक आशीष शर्मा बताउँछन् ।

“विदेशतिर होम केयर सेवा प्रचलित नै हुन्छ, तर हाम्रो ठाउँमा नयाँ हो”, उनी भन्छन्, “हाम्रो परिवारले पनि जीवन रक्षा होम केयरको सेवा लिएको छ । डा. कार्कीको टिमको सेवाभाव प्रशंसनीय लाग्यो ।”

होम केयरको चिकित्सा टोलीले भेन्टिलेटरसहितको एम्बुलेन्समा जटिल बिरामीलाई काठमाडौँ, विराटनगर, धरान र सिलीगुढीका सुविधासम्पन्न अस्पतालमा सुरक्षित पुर्याउने सेवासमेत प्रदान गर्दै आएको छ भने जिल्लाकै कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको हेरचाह गरिदिने कुरुवा सेवा दिँदै आएको छ ।

होम केयर सेवालाई व्यापार गर्ने थलो नबनाउने र सामाजिक सेवाको माध्यम बनाउने संस्थापक डा. कार्कीको भनाइ छ । घरमै सेवा पुर्याएबापत होम केयरले लिने सेवा शुल्क महँगो छैन । सामान्य ड्रेसिङका लागि रु ३०० देखि ३५० र डाक्टर भिजिटको न्यूनतम शुल्क लिएर होम केयरले अहोरात्र जुनसुकै देहाती बस्तीमा स्वास्थ्य सेवालाई सर्वसुलभ पुर्याइरहेको छ । वृद्धाश्रमहरूमा ‘बेसलाइन रेट’मा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेर विर्तामोडका विभिन्न वृद्धाश्रमहरूमा होम केयरले प्रस्ताव पठाएको जनाएको छ ।

बिर्तामोडबाट सुरु भएको ‘जीवन रक्षा होम केयर’को सेवालाई विराटनगरमा पुर्याइसकेको र धरानमा चाँडै पुर्याउने लक्ष्य रहेको डा. कार्कीले सुनाए। होम केयर सेवा दिने कोशी प्रदेशकै पहिलो संस्था ‘जीवन रक्षा होम केयर’ले विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा पुर्याइरहेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रमसमेत यसले गर्दै आएको छ ।

पूर्वाञ्चल युनिभिर्सिटीमा एमबीए अध्ययनरत डा.कार्कीले व्यवस्थापकीय रूपमा पनि स्वास्थ्य क्षेत्रलाई नयाँ प्रविधिमार्फत सुधार्ने प्रयास गरिरहेको बताउँछन्। मोबाइल एपमार्फत ‘टेलिमेडिसिन’ सेवा दिने र कारागार तथा सुधारगृहमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको उनले बताए ।

‘जीवन रक्षा होम केयर’को स्थापना गरेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट र नयाँ सेवा प्रदान गरेको कारण डा. कार्कीले हालै वर्ष उत्कृष्ट व्यक्तिका रूपमा ‘पौरखी जेनजी सम्मान’ प्राप्त गरेका छन्। उनी भन्छन्, “अहिलेसम्मका काममा सबैको हौसला प्राप्त भइरहेको छ । भविष्यमा हामी अझ धेरै राम्रा योजनाका साथ समाजको सेवा आउनेछौँ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *