पाटन (ललितपुर)। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पु¥याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभएको छ ।
मुस्लिम आयोगको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्तरूप दिन आयोगले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सामाजिक सद्भाव र सांस्कृतिक उत्थानका क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो ।
“मुस्लिम समुदायले नेपालको इतिहास, संस्कृति, व्यापार, शिक्षा, कला र सामाजिक सद्भावमा पु¥याएको योगदान अमूल्य छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “मुस्लिम आयोगले भविष्यमा अझ उज्ज्वल यात्राको सङ्कल्प लिनुपर्ने आवश्यकता छ । त्यसका लागि मुस्लिम युवालाई गुणस्तरीय शिक्षा, निजामती सेवा, न्याय सेवा, सेना–प्रहरी तथा कूटनीतिक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”
उहाँले मुस्लिम महिलालाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैँचा हो, मुस्लिम समुदायले आफ्नो संस्कृति, परम्परा र विश्वासका फूलहरू फुलाउँदै साझा पहिचानलाई अझ सुगन्धित बनाएको छ”, उपराष्ट्रपति यादवले भन्नुभयो ।
उहाँले मुस्लिम आयोगले समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गरी सुखी, समृद्ध र आत्मनिर्भर समुदाय निर्माणमा अग्रणी भूमिका खेलोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । उपराष्ट्रपति यादवलेसम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा आज मनाईँदै गरेको ईद–उल–फित्रको पावन अवसरमा हार्दिक शुभकामना दिनुभयो ।
समारोहमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।




