सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मुख्यमन्त्रीले भन्नुभयो, “सुदूरपश्चिमको गेमचेञ्जरका रूपमा रहेको यो क्रिकेट परियोजना निर्माणका लागि प्रदेशले उच्च प्राथमिकतामा राखेको छ, थप बजेट विनियोजनका लागि सङ्घीय सरकारसँग पनि आवश्यक पहल गरिनेछ ।” सो अवसरमा अध्यक्ष शाहीले हालसम्म भएको प्रगति विवरणबारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै आगामी बजेटमा यो परियोजनालाई प्राथमिकता राख्न आग्रह गर्नुभएको थियो ।
धनगढी उपमहानगरपालिका–३ स्थित निर्माणाधीन फाप्ला क्रिकेट रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनजस्ता प्राविधिक काम सम्पन्न भइसकेका छन् । पहिलो चरणमा परियोजना निर्माणका लागि रु ११ अर्ब बजेट आवश्यकपर्ने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक
काठमाडौँमा आयोजना हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी आज सार्वजनिक गरिएको छ । टोलीको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपिए) कलेजका प्रबन्ध निर्देशक सुवास शाही, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले आज संयुक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो ।
टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खड्क बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, सौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी छन् ।




