काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोका कारण मकवानपुरको भीमफेदी क्षेत्रमा पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका–८ मा शुक्रबार साँझ करिब ५ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ। स्थानीय तह र डिभिजन सडक कार्यालयसँग समन्वय गरी अवरोध हटाउने काम तीव्र बनाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार प्रभावित सडक खण्डमा अहिले स्तरोन्नतिको काम पनि भइरहेको छ, जसअन्तर्गत सडक चौडाइ विस्तार र कालोपत्रे गर्ने कार्य जारी छ।
पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ६ किलोमिटर उत्तरतर्फ पर्ने जनाइएको छ। मौसम अनुकूल भएमा सडक छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।




