देश

खराब मौसमको मार : देशभरका विमानस्थलमा उडान अवरुद्ध, जहाज डाइभर्ट

काठमाडौं । देशभर सक्रिय बनेको प्रतिकूल मौसमका कारण हवाई सेवा व्यापक रूपमा प्रभावित भएको छ। हावाहुरी, वर्षा र असिनासहितको मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित विभिन्न विमानस्थलमा उडान र अवतरणमा समस्या उत्पन्न गरेको हो। विमानस्थलका अनुसार मौसम बिग्रँदा भिजिबिलिटी कम भएपछि जहाजहरू सुरक्षित रूपमा अवतरण गर्न नसक्दा धेरै उडान प्रभावित भएका छन्। प्राविधिक रूपमा विमानस्थल सञ्चालनमा रहे पनि खराब मौसमका कारण उडान तालिका अस्तव्यस्त बनेको छ।

भारतबाट काठमाडौं आउँदै गरेको इन्डिगो एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि लखनउतर्फ डाइभर्ट गरिएको छ भने कतार एयरवेजको जहाज आकाशमै होल्डमा राखिएको छ। मौसममा सुधार नआए यसलाई पनि अन्यत्र मोड्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ। देशका विराटनगर, सिमरा, धनगढी र भैरहवाबाट काठमाडौंका लागि उडेका जहाजहरू समेत गन्तव्यमा पुग्न नसकी पुनः आफ्नै विमानस्थल फर्किएका छन्।

विमानस्थलका अधिकारीहरूका अनुसार मेघगर्जन र तीव्र हावाहुरीका कारण जहाजको ‘एप्रोच’ प्रक्रिया जटिल बनेको छ। प्रत्येक एयरलाइन्सले आफ्नो सुरक्षा मापदण्डअनुसार जोखिम नलिने नीति अपनाउँदा पाइलटहरूले अवतरण स्थगित गर्ने निर्णय लिएका छन्। मौसममा सुधार नआएसम्म उडानमा थप अवरोध आउन सक्ने भन्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र उडान जानकारी अद्यावधिक राख्न आग्रह गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *