काठमाडौं । देशको पश्चिमी क्षेत्रबाट सक्रिय बनेको मनसुनको प्रभावले काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ। मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु र रुपन्देही जिल्लामा हावाहुरीसहित वर्षा भएको छ। ती क्षेत्रमा मौसम अत्यन्त प्रतिकूल बन्दै दिउँसै अँध्यारो भएको अवस्था देखिएको थियो।
हावाहुरी र बाक्लो बादलका कारण बजार क्षेत्रमा सवारीसाधनहरू दिनमै बत्ती बालेर गुड्नुपर्ने अवस्था आएको थियो। यसैबीच, काठमाडौं उपत्यकामा पनि वर्षासँगै हावाहुरी चल्दा दैनिक जनजीवन अस्तव्यस्त बनेको छ। सडक, यातायात र बजार क्षेत्रमा सामान्य गतिविधिमा असर परेको देखिएको छ। मौसम विभागले आगामी केही समय देशका विभिन्न भागमा यस्तै मौसमको प्रभाव जारी रहने सम्भावना औंल्याउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




