लुम्बिनी । रुपन्देहीकाे बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको शुभारम्भ गरेकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालको ११६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरे । १२ करोड लागतमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो ।
सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत र साधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए । विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएको उनले स्पष्ट पारे ।
प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’ उनले भने, ‘यसलाई नमुना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’
प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । ‘एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानु पर्ने बाध्यताको अन्त्य भएको छ’, उनले भने, ‘१२ सय शश्याको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’
स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद दिए ।
यस्तै स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै गौरव भएको उल्लेख गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने गरी काम भइरहेको बताए ।
करिब ९ सय चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स र कर्मचारी कार्यरत रहेको यस अस्पतालमा वार्षिक साढे ३ लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिक करिब ३ हजार बिरामी आउने अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशतभन्दा बढी शय्या भरिने गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।
अस्पतालमा बालरोग, स्त्री तथा प्रसूति, अस्थिरोग, मुटु, न्युरो, शल्यक्रिया, रेडियोलोजी, आँखा, कान–घाँटी–नाक, छाला र दन्तलगायत प्रमुख सेवाहरू उपलब्ध छन् । मेसु डा.इन्द्र ढकालका अनुसार सेवा प्रवाहलाई सहज बनाउन स्पष्ट मापदण्डसहित सहुलियत व्यवस्था लागू गरिएको छ ।
बालरोग विभागमा नवजातदेखि किशोरसम्मका बिरामीका लागि विशेष सेवा उपलब्ध छ भने स्त्री तथा प्रसूति सेवाअन्तर्गत उच्च जोखिमयुक्त गर्भावस्था र सुरक्षित सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।




