देश

मध्यपूर्वबाट ८२ हजार नेपालीले अनलाइन दर्ता, सरकारले सुरक्षा र उद्धारमा तयारी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म मध्यपूर्वबाट ८२,१०० नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जानकारी दिएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो तथ्य जानकारी दिए। उनका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएका मध्ये करिब ६,००० जनाले शुरुमा आफूहरू असुरक्षित भएको जानकारी दिएका थिए।

तर पछिल्ला दिनहरूमा असुरक्षित महसुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको दाबी प्रवक्ताले गरे। इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको उनले उल्लेख गरे।

अवस्था सामान्य बन्दै गएको कारण, अधिकांश सम्पर्क श्रम स्वीकृतिको विषयमा जानकारी लिनका लागि भएको प्रवक्ताले बताए। मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक समन्वय गर्दै आएको पनि उनले जानकारी दिए।

ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिए। जेद्दामा रहेका ५२ जना हजयात्रीहरू पनि स्वदेश फर्किसकेका छन्।

प्रवक्ता क्षेत्रीले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको र आवश्यक परे उद्धारका लागि पनि तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *