काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रवक्ता सुरेश न्यौपानेका अनुसार साविकको घुस र रिसवत भ्रष्टाचार मुद्दा (मुद्दा नं. ०८२-CR-००२७) मा वादी नेपाल सरकारका तर्फबाट साक्षी रहेका सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० का घर्तीले अदालतमा पुगेर बयान फेरेपछि आयोगले निजविरुद्ध नै मुद्दा चलाएको हो।
वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको सोही मुद्दामा घर्तीले अनुसन्धानका क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेका थिए।
सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई कार्कीलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो।
तर, २०८२ माघ २२ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा घर्तीले अनुसन्धानको क्रममा दिएको बयान र मिसिल संलग्न प्रमाणको विपरीत हुने गरी बयान दिएको आयोगले जनाएको छ।
आयोगका अनुसार घर्ती प्रोपाइटर रहेको देउतीबज्यै कन्स्ट्रक्सनले डुङ्गेश्वर गाउँपालिका, दैलेखअन्तर्गतका विभिन्न वडामा सडक स्तरोन्नति योजनाको कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीको प्रक्रिया सहजीकरणका लागि वरिष्ठ लेखा अधिकृत कार्कीलाई एक लाख रुपियाँ घूस दिएको पुष्टि भएको छ।
सरकारी साक्षीले अदालतमा बकपत्र गर्दा सत्य तथ्य लुकाएको र कसुर पुष्टि हुने प्रमाणको प्रतिकूल बयान दिएकाले निजलाई नै प्रतिवादी कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
घर्तीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (घ) बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबीसहित शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।




