मुख्य समाचार

अमेरिकाको ‘एफ-३५’ विमान मध्यपूर्वमा आपतकालीन अवतरण, पाइलट सुरक्षित

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकाको अत्याधुनिक ‘एफ-३५’ लडाकु विमान बिहीबार एक हवाई अखडामा आपतकालीन अवतरण गरेको छ। अमेरिकी सैन्य स्रोतका अनुसार विमान सुरक्षित अवतरण भएको र पाइलटको अवस्था स्थिर रहेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानसँगको सम्भावित सैन्य मुठभेडका बीच विमानलाई क्षेत्रीय आधार शिविरमा अवतरण गराइएको जानकारी दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले पाइलट सकुशल रहेको र घटनाबारे थप अध्ययन भइरहेको जनाएको छ।

अमेरिकी समाचार संस्था सीएनएनले करिब १०० मिलियन डलर (१३ अर्ब रुपैयाँ) मूल्य पर्ने विमानमाथि इरानले प्रहार गरेको हुनसक्ने आशंका व्यक्त गरेको छ। इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पनि अमेरिकी विमान निशानामा परेको दाबी गरेको छ।

गत फेब्रुअरी २८ पछि मध्यपूर्वमा जारी युद्धका क्रममा अमेरिकाले झण्डै १२ वटा ‘एमक्यु-९ रिपर’ ड्रोन गुमाइसकेको छ भने साउदी अरेबियाको अमेरिकी सैन्य अड्डामा इरानी क्षेप्यास्त्र प्रहारले पाँचवटा ‘केसी-१३५’ रिफ्युलिङ विमानमा क्षति पुगेको रिपोर्ट छ।

अमेरिकी रक्षा मन्त्रालयले एफ-३५ को आपतकालीन अवतरणको प्राविधिक वा रणनीतिक कारणबारे सूक्ष्म अनुसन्धान सुरु गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *