काठमाडौं । सङ्घीय संसद सचिवालयले नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण आगामी १२ गते गर्नेगरी तयारी अगाडि बढाएको छ ।
बिहीवार संसद सचिवालयका महासचिवले राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा शपथ ग्रहण र संसदीय दलका कार्यालय व्यवस्थापनबारे चर्चा गरिएको हो ।
छलफलमा मुख्यतया शपथ ग्रहणको मिति र दलका कार्यालयहरूको व्यवस्थापनमा केन्द्रित रहेर कुराकानी भएको सहभागी सांसदहरुले बताए । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले १२ गते सांसदहरुको शपथ गर्नेगरी तयारी अघि बढाइएको बताए ।
निर्वाचन आयोगले सूचि पठाइसकेपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुंगो लाग्ने उको भनाइ छ । ‘मुख्यतः १२ गते शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । निर्वाचन आयोगले सूची पठाएपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुङ्गिनेछ । संसदीय दलका कार्यालयहरूको व्यवस्थापन र सेवा सुविधाका विषयमा पनि छलफल भएको छ’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आफूहरु प्रतिपक्षको भुमिकामा बस्ने स्पष्ट पारे । बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको जानकारी दिए । ‘हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको छ । १२ गते शपथको तयारी छ, बाँकी सरकारले के गर्छ हेरौँ’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले दलको आकारअनुसार कार्यालयको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । ‘दलको आकार अनुसार कार्यालयहरूको व्यवस्थापन गर्ने तयारी भइरहेको छ । संसदीय दलका कार्यालयहरू कहाँ रहने भन्ने विषयमा छलफल भयो । केही हेरफेरहरू हुन सक्छन्, हामीलाई व्यवस्थापन देखाउने काम भइरहेको छ’ उनले भने ।




