देश

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

वीरगञ्ज (पर्सा)। यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ । पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो ।

तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन । पर्सा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यबाट निर्वाचित सांसद सुशीलकुमार कानुले गम्भीर घाइते हुनुभएकी हरिकलादेवी सहनीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

‘‘गम्भीर घाइते हरिकलाको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचार र कुरुवाका लागि लाग्ने खर्चकोसमेत प्रबन्ध गर्नेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘पीडित परिवारले उपचार खर्च र दोषीमाथि कारबाहीको माग गरेकाले पनि यहाँको स्थानीय प्रहरी प्रशासनलाई पनि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनको लागि अनुरोध गर्दछु ।’’

पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताउनुभयो । ‘‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।’’ उहाँका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *