विश्व

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट

वासिङ्टन । पश्चिम एसियामा चर्किएको युद्ध र रणनीतिक स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबकाबीच जापानका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता भएकाे छ ।

जापानका प्रधानमन्त्री सानाई ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटलाई उच्च जोखिमयुक्त कूटनीतिक संवादका रूपमा हेरिएको छ ।

विश्व ऊर्जा आपूर्तिको मुख्य नाडी मानिने जलमार्गको सुरक्षामा सहयोग जुटाउने प्रयास असफल भइरहेका बेला भएकाे यो भेटले अमेरिका–जापान सम्बन्धको संवेदनशील पक्ष उजागर गरेको छ ।

यसअघि सामान्य द्विपक्षीय समन्वय र सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने अपेक्षा गरिएको भेट, इरानसँगको युद्ध र त्यसले सिर्जना गरेको सुरक्षा संकटका कारण जटिल बनेको हो । ट्रम्पले जापानसहित आफ्ना सहयोगी राष्ट्रहरूले होर्मुज जलडमरूको सुरक्षामा अपेक्षित सहयोग नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् ।

सहयोग नपाएपछि उनले अमेरिका आफैँ सक्षम रहेको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री ताकाइचीले पनि वासिङ्टन प्रस्थानअघि ट्रम्पसँगको भेट ‘धेरै गाह्रो’ हुने स्वीकार गरेकी थिइन् ।

जापानले अमेरिकी–इजरायली सैन्य अभियानमा आफ्ना युद्धपोत पठाउने प्रस्ताव अस्वीकार गरिसकेको छ । यसले दुई देशबीचको सुरक्षा समन्वयमा तनाव बढाएको छ ।

एसिया समूहका अध्यक्ष तथा पूर्वअमेरिकी कूटनीतिज्ञ कर्ट क्याम्पबेलका अनुसार ट्रम्पले ताकाइचीमाथि उच्च स्तरको दबाब दिने सम्भावना रहेको छ, र यस्तो संवेदनशील भेट दुर्लभ मानिन्छ ।

क्याम्पबेलका अनुसार ताकाइचीले जापानलाई मध्यपूर्वको अमेरिकी योजनाको साझेदारका रूपमा प्रस्तुत गर्ने सन्तुलित उपाय खोज्ने प्रयास गरेकी छन् । यसले ताइवानलगायत क्षेत्रीय विषयहरूमा जापानका चासोहरू अमेरिकासमक्ष संयमित र प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

तर जापानको संवैधानिक सीमाले यस्तो सहयोगमा जटिलता थपेको छ । दोस्रो विश्वयुद्धपछिको संविधानले आफ्नो भूभागको रक्षा बाहेक सैन्य शक्ति प्रयोगमा प्रतिबन्ध लगाएको छ, जसका कारण जापानको सेना ‘आत्मरक्षा बल’ का रूपमा सीमित छ । यद्यपि, विश्लेषकहरूका अनुसार जापानले समुद्री माइन हटाउने कार्य वा सीमित नौसैनिक उपस्थिति जस्ता सहयोग गर्न सक्ने सम्भावना भने रहन्छ । तर अमेरिकी सैन्य अभियानमा प्रत्यक्ष संलग्न हुन ‘सामूहिक आत्मरक्षा’को प्रावधान सक्रिय गर्नुपर्ने हुन्छ । यो राजनीतिक रूपमा अत्यन्त संवेदनशील विषय हो ।

ताकाइचीले यस भेटलाई इन्डो–प्यासिफिक क्षेत्रमा व्यापार, सुरक्षा र रणनीतिक सहकार्यमा केन्द्रित गर्ने योजना भएकाे बताएकी छन् । अक्टोबरमा टोकियोमा ट्रम्पसँग पहिलो पटक भेट गरेकी ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री हुनुका साथै पूर्वप्रधानमन्त्री सिन्जो आबेका निकट सहयोगीका रूपमा चिनिन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *