काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता राजेश हमाल को नाम दुरुपयोग गरी सरकारी रकम हिनामिना गरिएको प्रकरण सार्वजनिक भएको छ। उक्त घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार अछामको ढकारी गाउँपालिकाबाट ‘डकुमेन्ट्री निर्माण’ को नाममा बजेट विनियोजन गरी १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ अनियमित रूपमा खर्च गरिएको पाइएको छ। सो कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ।
मुद्दामा गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउद लाई प्रतिवादी बनाइएको छ। त्यस्तै, आरजे ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल पनि सोही प्रकरणमा मुछिएका छन्। अख्तियारले जनाएको अनुसार, हमालको नाम जोडेर वृत्तचित्र निर्माण गर्ने भन्दै करिब १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो। तर, प्रक्रिया मिचेर सोझै सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी अग्रिम भुक्तानी गरिएको तथा बैंक ग्यारेन्टीबिनै रकम निकासा गरिएको पाइएको छ।
अनुसन्धानबाट पेश गरिएका बिलहरू शंकास्पद र नक्कली रहेको तथा वास्तविक काम नगरी मिलेमतोमा रकम हिनामिना गरिएको निष्कर्ष निकालिएको छ। अध्यक्ष साउदले आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले निर्णय गरेको भन्दै उनीविरुद्ध थप सजाय माग गरिएको छ। अख्तियारले सबै प्रतिवादीबाट बिगो असुलउपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार हदैसम्मको कारबाही गर्न माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।




