भोजपुर। लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ । समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन् ।
विशेषगरी गहुँ, मकै, आलु तथा विभिन्न तरकारी बालीका लागि यो बर्सात अत्यन्तै उपयोगी बनेको टेम्केमैयुङ–५ का स्थानीय किसान अडिबहादुर विष्टले बताउनुभयो । खडेरीका कारण हिउँदे बाली सुक्दै गएको अवस्थामा बर्सात भएपछि किसानमा नयाँ आशा पलाएको उहाँको भनाइ छ ।
“लामो समयको खडेरीका कारण हिउँदे बाली सुक्ने अवस्थामा पुगेको थियो,” उहाँले भन्नुभयो, “बर्सात भएपछि हामी किसान निकै खुसी भएका छौँ । अब बाली सप्रिन्छ भन्ने आशा बढेको छ ।”
खेतबारीमा चिस्यान अभावका कारण ओइलिन थालेका बाली बर्सातपछि पुनः हरियाली देखिन थालेका छन् । यसले उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । सिँचाइ सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो बर्सात झन् राहत बनेको छ ।
स्थानीय किसानका अनुसार बर्सातअघि माटो अत्यधिक सुक्खा हुँदा बालीको वृद्धि प्रक्रिया प्रभावित बनेको थियो । तर, बर्सातले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने विश्वास किसानले व्यक्त गरेका छन् । मकै छर्ने ‘सिजन’मा पानी परेपछि किसानलाई थप सहजता भएको छ ।




