काठमाडौँ । रेशम चौधरीलाई आममाफी दिएको विरुद्ध दायर मुद्दाको सुनुवाइ स्थगित भएको छ।
टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएपछि शारदा बोहरा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, विपक्षी चौधरी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।
शारदा बोहरा कडायत टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।
टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा चौधरीविरुद्ध कैलाली जिल्ला अदालत र दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले २०७९ जेठ २ गते सदर गरेको थियो। तर, गणतन्त्र दिवसका अवसरमा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि चौधरी २०७९ जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।
यदि आममाफी नदिएको भए चौधरीले २०९४ सालसम्म कैद भोग्नुपर्ने थियो।२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा एक बालकसहित सात सुरक्षाकर्मीसहित आठ जनाको हत्या भएको थियो।




