जुम्ला। जिल्लामा लक्षित समूहका १ हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ।
जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिनेछ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आठ वटै स्थानीय तहका कक्षा ६ मा अध्ययनरत १ हजार १६५ छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका ११२ किशोरी गरी कुल १ हजार २७७ जनालाई खोप दिने तयारी गरिएको कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए।
खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाभर ८४ वटा खोप केन्द्र तोकिएको छ। स्थानीय तहअनुसार चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौर गाउँपालिकामा ७७ र पातारासी गाउँपालिकामा २२१ किशोरीलाई खोप लगाइनेछ।
त्यसैगरी तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा गरी ५३८ किशोरीलाई खोप प्रदान गरिने जनाइएको छ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार उक्त अभियान विद्यालयमा अध्ययनरत कक्षा ६ का छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी सञ्चालन गरिनेछ।




