काठमाडौं । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।
उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु भएका दूतावासले जनाएको छ । दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो ।
उद्धार गरिएकाहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरु आज त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।





