देश

सुदूरपश्चिममा इन्धन आपूर्ति निगरानी कडा, कालोबजारी रोक्न सरकार सक्रिय

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउन प्रदेश सरकारले सक्रियता बढाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरोकारवाला निकायसँग छलफल गर्दै आपूर्ति, मूल्य र बजार अवस्थाबारे विस्तृत जानकारी लिएका छन्।

प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित बैठकमा प्रशासन, सुरक्षा निकाय, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स, ग्यास उद्योग तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।

छलफलपछि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, उपभोक्ता संरक्षणमा जोड दिने र आपूर्ति प्रणालीलाई सुदृढ बनाउने निर्णय गरिएको छ। साथै, डिजेल, पेट्रोल र एलपीजी ग्यासजस्ता अत्यावश्यक वस्तुको मूल्य, गुणस्तर र उपलब्धतामा नियमित निगरानी बढाइने जनाइएको छ।

सरकारले कालोबजारी, कृत्रिम अभाव तथा अत्यधिक मूल्य असुली रोक्न कडा कदम चाल्ने चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा कानुनअनुसार कारबाही गरिने स्पष्ट गरिएको छ।

त्यसैगरी, इन्धनको मितव्ययी प्रयोग र वैकल्पिक ऊर्जाको प्रयोगमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गरिने भएको छ।

प्रदेश सरकारले हाल बजारमा इन्धन आपूर्ति सामान्य रहेको जानकारी दिँदै सर्वसाधारणलाई अनावश्यक हतार नगर्न आग्रह गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *