काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुन आफूले विशेष तालिम लिइरहेको बताएकी छन्।
ललितपुरको ग्वार्कोमा आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै तामाङले बोल्ने शैली र संसदीय व्यवहार सुधार गर्न आफूले अभ्यास गरिरहेको जानकारी दिइन्। उनले आफूलाई बोल्न नसक्ने भन्दै आलोचना भइरहेकाले त्यसलाई सुधार्ने उद्देश्यले प्रशिक्षण उपयोगी भएको उल्लेख गरिन्। “आलोचनाले मलाई अझ सिक्न प्रेरित गरेको छ,” उनले भनिन्।
तामाङले नयाँ सांसदका रूपमा संसद्मा प्रस्तुत हुनु चुनौतीपूर्ण भए पनि पार्टीले आयोजना गरेको तालिमले आत्मविश्वास बढाएको बताइन्। साथै, अन्य नयाँ सांसदहरूका लागि पनि यस्तो कार्यक्रम उपयोगी भएको उनको धारणा छ। रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र सार्वजनिक अभिव्यक्तिमा दक्ष बनाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।




