काठमाडौं । इलाम नगरपालिका–७ सुनगाभा चोकस्थित एक रेडियो स्टेशनमा तोडफोडको प्रयास भएको घटनाले सञ्चार क्षेत्र तरंगित बनेको छ।
रेडियो नेपालवाणी एफएमको कार्यालयमा राति करिब सवा १० बजेतिर दुई अज्ञात व्यक्तिले मुख्य ढोका फोड्ने प्रयास गरेका थिए। कार्यालयमा कार्यरत कर्मचारीले प्रतिरोध जनाएपछि उनीहरू घटनास्थलबाट फरार भएको जनाइएको छ।
घटनापछि नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै कडा शब्दमा भर्त्सना गरेको छ। महासंघले सञ्चारमाध्यममाथिको यस्तो गतिविधि स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको उल्लेख गर्दै दोषीको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चार संस्थामाथि हुने कुनै पनि प्रकारको दबाब र आक्रमण अस्वीकार्य हुने स्पष्ट पारिएको छ। साथै, यस्ता घटनाले प्रेस स्वतन्त्रतामाथि चुनौती थप्ने भएकाले सुरक्षा व्यवस्था कडा बनाउन समेत आग्रह गरिएको छ।
घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको जनाएको छ।




