देश

दमकका डीएसपी लम्साल ‘महिनाकै उत्कृष्ट प्रहरी’ घोषित

काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ। उच्च मनोबल, साहस र अनुशासनका साथ जिम्मेवारी निर्वाह गरेको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको प्रहरीले जनाएको छ।लम्सालले विशेषगरी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई झापा क्षेत्र नम्बर–५ जस्तो संवेदनशील क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनको नेतृत्वमा कुनै अप्रिय घटना बिना निर्वाचन सम्पन्न भएको थियो।

त्यस्तै, आन्दोलनका क्रममा हराएका हतियार बरामद गर्नुका साथै फरार प्रतिवादीको खोजीमा सक्रियता देखाउँदै विभिन्न स्थानबाट १९ जनालाई पक्राउ गरिएको थियो। कार्यालय नजिकैको झाडीबाट एक थान राइफल समेत फेला पारिएको प्रहरीले जनाएको छ।  फागुन महिनाभर ३५ वटा मुद्दा दर्ता भएकोमा आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा पूर्ण रूपमा फर्छ्यौट गरिएको थियो। साथै, आन्दोलनका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण तथा आवश्यक सामग्री व्यवस्थापनमा स्थानीय तह र सरोकारवालासँग समन्वय गर्दै उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

यसैगरी, ध्वनि प्रदूषण नियन्त्रण अभियान अन्तर्गत २१७ वटा मोटरसाइकललाई कारबाही गरिएको थियो भने विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादी पक्राउ गर्न पनि उनले उल्लेखनीय योगदान दिएका छन्। प्रहरीले लम्सालले निर्वाह गरेको जिम्मेवारीले सर्वसाधारणमा शान्ति सुरक्षा प्रति विश्वास बढाएको निष्कर्ष निकाल्दै उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मानित गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *