समाचार

सल्यानमा फागुनमा १६ फरार प्रतिवादी पक्राउ, सुरक्षा र सचेतनामा प्रहरी सक्रिय

काठमाडौं  । जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा फरार रहेका १६ प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार, पक्राउ परेका फरार प्रतिवादीसँगै बेवारिसे अवस्थाका १६ नाल भरुवा बन्दुक पनि बरामद गरिएको छ।

फागुन महिनामा अपराध अनुसन्धानमा सक्रिय रहँदै १५ नयाँ मुद्दा दर्ता र पुराना तथा नयाँ गरी २२ मुद्दा फर्छ्यौट गरिएको छ। साथै, सवारी दुर्घटना न्यूनीकरणका लागि २४१ सवारीसाधनलाई नियन्त्रणमा लिएर करिब २ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। प्राकृतिक स्रोतको अवैध दोहन रोक्न प्रहरी सक्रिय रहँदै बालुवा लोड गरिएको एक ट्याक्टर नियन्त्रणमा लिएर कारबाही गरेको छ।

साइबर अपराध, बालविवाह, लागूऔषध, आत्महत्या न्यूनीकरणलगायतका विषयमा ४८ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा करिब २,१४१ नागरिकले सहभागिता जनाएका थिए। नागरिक सुनुवाइका क्रममा स्थानीयले बढ्दो साइबर अपराध र आत्महत्या समस्यालाई सम्बोधन गर्न माग गरेका छन्। प्रहरीका अनुसार, शान्ति सुरक्षामा सुधार ल्याउन नियमित गस्ती र सूचना संकलनमा तीव्रता दिइएको छ।

सल्यान प्रहरीले अपराध नियन्त्रण र समुदायमा सचेतना फैलाउने कार्यमा एक महिनाभित्र उल्लेखनीय सक्रियता देखाएको छ, जसले जिल्लामा सुरक्षा व्यवस्थालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *