काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार, नगर प्रमुख वादीले करारमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको करार अवधि थप गर्न एक लाख रुपैयाँ घुस मागेका थिए। शाहले साउन ८, २०८० मा उक्त रकम वादीको व्यक्तिगत बैंक खातामा जम्मा गरेपछि मात्र करार अवधि निरन्तरता पाएको थियो।
घुस दिने–लिने कार्यको उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो। वादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। यस्तै, घुस दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाउँदै उक्त ऐनको उपदफा ९३० अनुसार एक लाख रुपैयाँ बिगो र जरिवानासहित दावी गरिएको छ।
अख्तियारले वादीमाथि ऐनको दफा २४ अनुसार थप सजाय माग गर्दै सार्वजनिक पदको दुरुपयोग गरेको कारण थप कारबाहीको प्रक्रिया अघि बढाएको छ। यस घटनाले नगरपालिकामा करार कर्मचारीको म्याद थप सम्बन्धी अनियमितता र भ्रष्टाचारको छानबिनमा नयाँ मोड ल्याएको छ।




