देश

ट्रान्सजेन्डर भूमिका श्रेष्ठको अब संसद यात्रा, यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या सुनाउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी ३७ वर्षीया भूमिका श्रेष्ठ अब संसद्‍मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आएका चुनौती र पीडा उजागर गर्ने छिन्। २०४४ सालमा काठमाडौँमा जन्मिएकी भूमिका जन्मजात कान्छो सन्तानका रूपमा कैलाश श्रेष्ठ नाम दिइए पनि किशोरावस्थामा शारीरिक परिवर्तन आएपछि आफूलाई महिलाको रूपमा प्रस्तुत गर्न थालेकी हुन्। उनले नागरिकता र विद्यालय जीवनमा नाम तथा लिङ्ग सम्बन्धी अनेकौं चुनौती भोगिन्।

२०७७ सालमा मन्त्रिपरिषद्को निर्णयअनुसार उनको नाम परिवर्तन गरी महिला लिङ्ग कायम गरियो। यसरी भूमिका देशकै पहिलो व्यक्ति हुन् जसले तेस्रो लिङ्गको नाम परिवर्तन गरी नागरिकता पाएकी हुन्। विदेशमा गराइएको शल्यक्रियापछि महिला पहिचान बनाएकी भूमिका अब संसद्‍मा लैंगिक अल्पसंख्यक समुदायका अधिकार र पीडाबारे आवाज उठाउने तयारीमा छिन्। उनले संसदीय कार्यकालमा समानता, कानुनी संरक्षण, वैवाहिक अधिकार र समाजमा रहेको पूर्वाग्रह परिवर्तन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

भूमिका श्रेष्ठले आफ्नो निर्वाचनमा पार्टीले देखाएको विश्वासको कदर गर्दै सबै क्षेत्रको साझा सांसदको रूपमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छिन्। उनले भनिन्, “सदनमा पुग्दा म विशेषगरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पीडा बोलेर आवश्यक कानुन निर्माणमा पहल गर्नेछु।” यसरी भूमिका संसद्मा लैंगिक अल्पसंख्यक समुदायको आवाज प्रतिनिधित्व गर्ने पहिलो सांसदका रूपमा इतिहास रच्दै छिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *