देश

महानगर–वीर अस्पताल सहकार्य: महिलाका लागि क्यान्सर परीक्षण र प्रारम्भिक उपचार निःशुल्क

काठमाडौं । काठमाडौँ महानगरपालिका ले महानगरभित्रका महिलाका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण र प्रारम्भिक उपचार निःशुल्क गर्ने भएको छ। यसका लागि महानगरले वीर अस्पताल सँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने भएको हो।

स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक दिलीप शर्मा बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ को समेत उपस्थिति रहेको थियो।

महानगरका अनुसार चैत १६ गतेदेखि सुरु हुने उक्त कार्यक्रमअन्तर्गत दैनिक १०० देखि १२० महिलासम्मको परीक्षण गरिनेछ। ३० देखि ६० वर्ष उमेर समूहका महिला, अघिल्लो वर्ष परीक्षण छुटेका तथा जोखिममा परेका महिलालाई प्राथमिकता दिइने जनाइएको छ।

परीक्षणका क्रममा स्तनको क्लिनिकल जाँच गरिनेछ भने आवश्यक परे अल्ट्रासाउन्ड र मेमोग्राफी गरिनेछ। पाठेघरको मुखको क्यान्सरका लागि एचपीभी डीएनए परीक्षण, त्यसपछि आवश्यक भएमा कोल्पोस्कोपी र बायोप्सीसमेत गरिने व्यवस्था गरिएको छ।

कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरका कारण महिलाले अकालमै ज्यान गुमाउने अवस्था घटाउन नियमित परीक्षण अत्यन्त आवश्यक रहेको बताइन्। अस्पतालका निर्देशक शर्माले लक्षण नदेखिए पनि समयमै स्क्रिनिङ गराउनुपर्नेमा जोड दिएका छन्।

नेपालमा महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *