मुख्य समाचार

नेपाल भ्रमणमा अमेरिकी सैन्य टोली: माउन्टेन फ्लाइटपछि पाँचखालमा अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको टोलीले मंगलबार बिहान माउन्टेन फ्लाइट सम्पन्न गरेको छ। टोलीको नेतृत्व जोयल बी भोयल ले गरेका छन्।

नेपाली सेनाको हेलिकोप्टरमार्फत गरिएको उक्त उडान बिहान ७ बजे सुरु भएको थियो। टोलीसँगै सोवेन्द्रसिंह राठोर पनि सहभागी थिए। माउन्टेन फ्लाइटपछि टोली पाँचखालस्थित सैन्य तालिम केन्द्रको अवलोकनका लागि अवतरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

उक्त उडानमा चालक दलतर्फ मेजर हर्कबहादुर तामाङ र मेजर डा. नवीन अधिकारी रहेका थिए भने अमेरिकी सेनातर्फ मेजर म्याथ्यु क्रासटेनसेन, मेजर जेक ओस्टर र क्याप्टेन टेरेल हर्डल सहभागी थिए।

यसअघि टोलीले नेपाली सेना का प्रधान सेनापति अशोकराज सिग्देल सँग सैनिक मुख्यालयमा औपचारिक भेटवार्ता गरेको थियो। उक्त भेटबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

टोली काठमाडौंस्थित होटल मेरियट मा बस्दै आएको छ भने अमेरिकी दूतावास समेत भ्रमण गरेको थियो। नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयमा उनीहरूको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो।

तीन दिने भ्रमणका लागि भुटानको पारोबाट काठमाडौं आएको यो टोलीले भारतको नयाँ दिल्लीमा पनि उच्चस्तरीय सैन्य भेटवार्ता गरेको थियो। टोली आज दिउँसो बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *