काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुंगा क्षेत्रबाट हुन्डी तथा अभौतिक मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोद प्रसाद धिताल लाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अभौतिक मुद्रा तथा अवैध हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बैंकका चेक, विभिन्न व्यक्तिका नाममा काटिएका करिब २७ लाख ३० हजार रुपैयाँ बराबरका चेक, एटीएम कार्ड, नागरिकता, दुई वटा चारपाङ्ग्रे सवारीसाधन, एक मोटरसाइकल, सवारी दर्ता किताब, विभिन्न कम्पनीका छ वटा मोबाइल, ३१ थान सिमकार्ड तथा एक कम्प्युटर समेत बरामद गरेको छ। प्रहरीका अनुसार बरामद सामग्रीको अध्ययन गर्दै घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ।




