देश

समानुपातिकबाट संसद् पुगे राप्रपाका चार अनुहार, यस्तो छ पृष्ठभूमि र योजना

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ चार सांसद पाएको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ का अनुसार महोत्तरीका भरत गिरी, रुपन्देहीका ताहिर अली, झापाकी खुश्बु ओली र धादिङकी सरस्वती लामा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने भएका छन्।निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपाले समानुपातिक प्रणालीबाट थप चार सिट प्राप्त गरेको हो।

भरत गिरी

महोत्तरीका भरत गिरी लामो समयदेखि राजनीतिमा सक्रिय छन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका उनी त्यसबेला पराजित भएका थिए। यसपटक भने समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा प्रवेश गर्ने भएका छन्। पेसाले शिक्षण संस्थासँग आबद्ध गिरीले मुलुकमा रोजगारी सिर्जना र विदेश पलायन भएका युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउन नीतिगत पहल गर्ने बताएका छन्। साथै संसद्मा सुशासन र भ्रष्टाचार नियन्त्रणका विषय उठाउँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको योजना छ।

ताहिर अली

रुपन्देहीका ताहिर अली लामो समयदेखि राजनीतिमा सक्रिय छन्। २०१९ सालमा जन्मिएका उनी २०३८ सालदेखि राजनीतिक गतिविधिमा संलग्न छन्। हाल पार्टीमा सहायक महामन्त्रीको जिम्मेवारीमा रहेका अली लुम्बिनी प्रदेशको स्थानीय परिचालन विभागका संयोजक पनि हुन्।

सांसद बनेपछि जनताको दैनिकीसँग जोडिएका विषय, विकास निर्माण, शिक्षा–स्वास्थ्यमा पहुँच र बेरोजगारी न्यूनीकरणका मुद्दा संसद्मा उठाउने उनले बताएका छन्।

खुश्बु ओली

झापाकी खुश्बु ओली सामाजिक क्षेत्रमा सक्रिय युवाका रूपमा परिचित छन्। करिब तीन वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेकी उनी यसपटक समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्। उनले संसद्मा राष्ट्रियता, कृषकका समस्या, अर्थतन्त्र र महिलासम्बन्धी मुद्दालाई प्रमुख प्राथमिकतामा राख्ने बताएकी छन्।

सरस्वती लामा

धादिङकी सरस्वती लामा राप्रपाको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय छिन्। यसअघि दुई पटक समानुपातिक सूचीमा परे पनि सांसद बन्ने अवसर नपाएकी उनी यसपटक प्रतिनिधिसभामा प्रवेश गर्ने भएकी छन्। लामाले संसद्मा आम नागरिकका दैनिक समस्या, स्थानीय विकासका मुद्दा र पार्टीका नीतिगत एजेन्डालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

राप्रपाले संसद्मा सीमित सिट भए पनि सरकारका काम–कारबाहीमाथि निगरानी राख्दै प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने रणनीति लिएको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *