काठमाडौं । नवलपरासी कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका ५४६ कैदीमध्ये १८० जना अझै फरार रहेका छन्। फरार कैदीमा १५० पुरुष, ३० महिला र ३८ भारतीय नागरिकसमेत छन्।
गत भदौ २५ गते कैदीबन्दी कारागारबाट भागेका थिए। कारागार प्रशासनका अनुसार ३६२ जना कैदी कारागारमा फर्किए, चार जना अन्य कारागारमा स्थानान्तरण भए भने केही प्रहरी नियन्त्रणमा आए। तर १८० कैदी अझै कारागारमा उपस्थित नभएपछि उनीहरू फरार नै मानिएका छन्।
नवलपरासी कारागारका नायब सुब्बा किरण आर्याल का अनुसार, कारागार प्रशासनले फरार कैदीलाई समयमै फर्किन सूचना जारी गरिसकेको छ। फरारकै अवस्थामा रहेका कैदीबन्दीलाई खोजतलास गर्ने कार्य जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी राखेको छ।
उक्त कारागारमा भागाइँअघि ५७५ जना कैदी बन्दी थिए, जसमा ४१ जना विदेशी थिए। भारतीय कैदीबन्दीमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारागारमा फिर्ता पठाएको छ भने बाँकी ३८ जना अझै फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वीरदत्त पन्त का अनुसार, फरार कैदीलाई सक्दो छिटो नियन्त्रणमा ल्याउन खोजतलास अभियान जारी छ।




