काठमाडौं । मध्यपूर्वमा बढ्दो राजनीतिक–सैनिक तनावका बीच फागुन महिनामा ५२ हजार ९ सय ४४ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। तीमध्ये ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ३ सय ९२ महिला रहेका छन्।
सरकारले इजरायल–अमेरिका र इरानबीचको संघर्षलाई ध्यानमा राख्दै खाडी क्षेत्र, इजरायल, टर्की र अन्य ११ देशमा श्रम स्वीकृति स्थगन गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा पहिलो पटक २८ हजार ३ सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन्।
फागुन महिनामा सबैभन्दा बढी श्रम स्वीकृति मलेसियामा १२ हजार ६०१, यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ र साउदी अरेबियामा ६ हजार २२५ जना नेपालीले लिएका छन्। दोस्रो सातासम्म लिएका श्रम स्वीकृतिहरूले फागुनमा जानेको कुल संख्यालाई उल्लेख्य बनाएको छ।
सरकारले अर्को सूचना जारी नभएसम्मका लागि साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ। यस निर्णय श्रम मन्त्रीस्तरीय निर्णय फागुन १७ गतेबाट लागू गरिएको हो।
इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु भएको १७ दिन भइसकेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य ठूला ठाँउमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ, जसले खाडीमा रहेका नेपालीहरूको सुरक्षा चिन्ता बढाएको छ।
यसअघि माघ महिनामा ७० हजार ५ सय ३, पुसमा ६२ हजार ५ सय ५९, र मंसिरमा ६५ हजार ७ सय ५ जना नेपाली वैदेशिक रोजगारीमा गइसकेका थिए। यसले पछिल्ला महिनामा पनि वैदेशिक रोजगारमा नेपालीको संख्या उच्च रहिरहेकामा देखाउँछ।




