देश

पराजयपछि सीके राउतको निर्णयः संसदीय पदको राजनीतिबाट अलग, आन्दोलन जारी राख्ने

काठमाडौं । सीके राउत ले संसदीय पदको राजनीतिबाट अलग हुने घोषणा गरेका छन्। जनमत पार्टी का अध्यक्षसमेत रहेका राउतले सामाजिक सञ्जालमार्फत अब संसद्केन्द्रित राजनीतिमा नलाग्ने तर जनताको मुद्दामा आधारित संघर्ष भने निरन्तर जारी रहने बताएका हुन्।

उनले सार्वजनिक सन्देशमा आफू संसदीय पदका लागि प्रतिस्पर्धा गर्ने राजनीतिबाट टाढा रहने स्पष्ट पारे पनि राजनीतिक गतिविधि र सिद्धान्तको यात्राबाट पछि नहट्ने बताएका छन्। उनका अनुसार पार्टीलाई आवश्यक परेसम्म नेतृत्व प्रदान गर्दै आगामी राजनीतिक यात्रामा सक्रिय रहने प्रतिबद्धता छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि राउतको यस्तो घोषणा आएको हो। यसअघिको निर्वाचनमा राष्ट्रिय दलको हैसियत बनाएको उक्त पार्टीले पछिल्लो निर्वाचनमा भने प्रतिनिधिसभामा कुनै सिट जित्न सकेन।

सप्तरी २ बाट चुनाव लडेका राउत यसपटक रामजी यादव सँग पराजित भएका थिए। प्रत्यक्षतर्फ पार्टीका अन्य उम्मेदवारले पनि सफलता हासिल गर्न सकेनन् भने समानुपातिकतर्फ आवश्यक मत नपुग्दा संसद्मा प्रतिनिधित्व हुन सकेन।

राउतले अब संसदीय प्रतिस्पर्धाबाट अलग रहेर पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि संगठित गर्न ध्यान केन्द्रित गर्ने बताएका छन्। उनले जनताको अधिकार, पहिचान र सरोकारका विषयमा आफू निरन्तर सक्रिय रहने पनि उल्लेख गरेका छन्।

यसैबीच राउतले पार्टी नेतृत्वसम्बन्धी आफ्नो अनुभव पनि सार्वजनिक गरेका छन्। उनका अनुसार सुरुमा पार्टी अध्यक्ष बन्ने व्यक्तिगत इच्छा नभए पनि अन्य नेताहरू तयार नभएपछि अन्ततः आफूले जिम्मेवारी लिनुपरेको थियो। उनले विगतमा पनि आफ्नै इच्छाविपरीत निर्वाचनमा उम्मेदवार बनेको दाबी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *