काठमाडौं । भारतको कटक स्थित श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पताल मा आइतबार मध्यराति भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ। अस्पतालको ट्रमा केयर आईसीयूबाट सुरु भएको आगोले केही मिनेटमै फैलिँदा ठूलो मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्।
राति करिब ३ बजेतिर पहिलो तल्लामा रहेको आईसीयू कक्षबाट आगो सल्किएको थियो। त्यतिबेला उक्त कक्षमा २३ जना बिरामी उपचाररत थिए। आगलागीको तीव्रताका कारण सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप तीन जनाको उपचारका क्रममा ज्यान गएको जनाइएको छ।
बिरामीलाई सुरक्षित स्थानमा सार्ने प्रयासका क्रममा अस्पतालका कम्तीमा ११ जना कर्मचारीसमेत घाइते भएका छन्। घाइतेमध्ये केहीको शरीर जलेको र धुवाँका कारण श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ। प्रारम्भिक अनुसन्धानले विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने संकेत गरेको छ। घटनाबारे थप कारण पत्ता लगाउन अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरेका छन्।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझी सोमबार बिहान अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए। उनले मृतकका परिवारलाई प्रतिपरिवार २५ लाख भारु राहत उपलब्ध गराउने घोषणा गर्दै घटनाको उच्चस्तरीय छानबिन गर्न निर्देशन दिएका छन्। ओडिसाकै सबैभन्दा ठुलो स्वास्थ्य संस्थामध्ये मानिने उक्त अस्पतालमा राज्यभरका बिरामी उपचारका लागि आउने गर्छन्। पछिल्ला वर्षहरूमा अस्पतालका आईसीयू र ट्रमा केन्द्रहरूमा हुने आगलागीका घटनाले स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाइरहेको छ।
यसअघि सन् २०२५ अक्टोबरमा जयपुर स्थित सवाई मानसिंह अस्पताल को ट्रमा सेन्टरमा आगलागी हुँदा आठ जना बिरामीको मृत्यु भएको थियो। उक्त घटनामा धुवाँ पत्ता लगाउने उपकरणले काम नगरेपछि अलार्म प्रणाली सक्रिय हुन नसकेको बताइएको थियो, जसका कारण भेन्टिलेटरमा रहेका बिरामीहरू जोगिन सकेका थिएनन्।




