काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच ऊर्जा आपूर्तिसँग जोडिएको स्ट्रेट अफ होर्मुजको अवस्था जटिल बन्दै जाँदा भारतले कूटनीतिक संवादलाई नै प्राथमिकता दिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रमले उक्त समुद्री मार्ग खुला राख्न विभिन्न देशलाई युद्धपोत पठाउन आग्रह गरेका बेला भारतले भने इरानसँग प्रत्यक्ष वार्ता गरेर समस्या समाधान गर्ने रणनीति अघि बढाएको हो।
भारतका विदेशमन्त्री जयशंकरले आइतबार प्रकाशित फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुजबाट जहाजको सुरक्षित आवागमन कायम राख्न इरानसँग भइरहेको संवादले सकारात्मक संकेत दिएको बताएका छन्। उनका अनुसार भारतले कूटनीतिक समन्वयमार्फत आफ्ना जहाजको आवागमन सुरक्षित बनाउन प्रयास गरिरहेको छ। शनिबार भारतीय झण्डाबाहक एलपीजी बोकेका जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ करिब ९२ हजार ७१२ मेट्रिक टन तरल पेट्रोलियम ग्यास बोकेर स्टेट अप हर्मुज पार गर्दै भारततर्फ प्रस्थान गरेका थिए। जयशंकरका अनुसार यो इरानसँगको संवादबाट सम्भव भएको उदाहरण हो।
उनले अहिले पनि इरानी अधिकारीहरूसँग निरन्तर छलफल भइरहेको र त्यसबाट केही उपलब्धि देखिएको बताए। “वार्ताबाट परिणाम आएको छ भने त्यसलाई निरन्तर अघि बढाउनु नै उपयुक्त हुन्छ,” उनले भने। यद्यपि भारतीय झण्डाबाहक जहाजका लागि कुनै विशेष वा स्थायी व्यवस्था भने नभएको उनले स्पष्ट पारे। जहाजहरूको नियमित र सुरक्षित आवागमन सुनिश्चित गर्न अझै पनि तेहरानसँग संवाद जारी रहेको उनको भनाइ छ।
युरोपेली मुलुकहरूले पनि भारतजस्तै व्यवस्था गर्न सक्छन् कि भन्ने प्रश्नमा जयशंकरले प्रत्येक देशको इरानसँगको सम्बन्ध फरक भएकाले तुलना गर्न कठिन हुने बताएका छन्। तर भारतले आफ्नो अनुभव साझा गर्न भने तयार रहेको उनले जनाएका छन्।
सोमबार इजरायलमा हुने युरोपियनका विदेशमन्त्रीहरूको बैठकअघि उनले यस्तो धारणा व्यक्त गरेका हुन्। बैठकमा रेड सागर क्षेत्रमा सञ्चालन भइरहेको ‘एसपाइड्स’ नौसैनिक अभियानको दायरा हर्मुज जलडमरूमध्यसम्म विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। इरान र अाेमनबीच अवस्थित स्ट्रेट अफ होर्मुज विश्वकै अत्यन्त महत्वपूर्ण समुद्री मार्गमध्ये एक मानिन्छ। करिब ३३ किलोमिटर चौडाइ रहेको यस जलमार्गको जहाज आवागमन हुने भाग भने करिब ११ किलोमिटर मात्र छ।
विश्वभर दैनिक आपूर्ति हुने करिब २० प्रतिशत पेट्रोलियम पदार्थ यही मार्ग हुँदै ढुवानी हुने भएकाले यहाँको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने गर्छ। हाल अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव बढेको छ। इरानले जलमार्ग आंशिक रूपमा मात्रै खुला राखेको छ। इरानी विदेशमन्त्री अब्बास अग्राचीका अनुसार अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई आवागमनमा अवरोध नगरे पनि असुरक्षाका कारण सयौँ जहाज रोकिएका छन्।यसका कारण विश्वभर तेल र ग्यासको आपूर्ति प्रभावित हुनुका साथै मूल्यमा पनि तीव्र वृद्धि भएको छ।




