हुम्ला। जिल्ला सदरमुकाम सिमकोट बजार र आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको गम्भीर अभाव देखिएको छ। यस वर्ष हिमपात नहुँदा पानीका मूल सुक्न थालेपछि समस्या उत्पन्न भएको हो।
सिमकोट तल्लो गाउँका बासिन्दा करिब तीन घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य छन्। सिमकोट गाउँपालिका-४ बुराउँसेस्थित ठाँडाढुङ्गाको केउकेउ मूलबाट पानी भण्डारण गर्ने ट्याङ्कीमा पर्याप्त पानी नभरिँदा समस्या बढेको स्थानीय नैनसिंह रावतले जानकारी दिए।
त्यस्तै नाम्खा गाउँपालिका-१ को ताङिन खोलाबाट बृहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइएको भए पनि बीचबीचमा बरफ जमेपछि पानीको सङ्कट देखा परेको छ। रावतका अनुसार, पहिले करिब १० फिटसम्म हिमपात भए पनि पानीको अभाव हुँदैनथ्यो, तर यस वर्षको खडेरीले अधिकांश मूल सुक्दा खानेपानीको समस्या सिर्जना भएको छ।
यस्तै, कृषि विकास कार्यालय हुम्लाले जुम्लाबाट खरिद गरेको तीन हजार ८७६ वटा ओखर र स्याउका बिरुवा ५५० जना किसानलाई अनुदानमा वितरण गरेको छ। बिरुवाको दर रु २७५ कायम गर्दै कृषकलाई उपलब्ध गराइएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिए।




