देश

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत) पार गरेका छ राजनीतिक दलले आज कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउने भएका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले क्लष्टर (समूह) मिल्ने गरी उम्मेदवारको सूची आज साँझ ५ बजेसम्म आयोगमा पेस गर्नुपर्नेछ। यस सम्बन्धमा आयोगले गत फागुन २८ गते नै दलहरूलाई पत्र पठाएको थियो।

फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो। तीमध्ये एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ।

सदर मतका आधारमा सबैभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले क्लष्टरअनुसार ५७ जना सांसदको नाम पठाउनुपर्नेछ। त्यस्तै नेपाली कांग्रेसले २०, एमालेले १६, नेकपाले नौ, श्रम संस्कृति पार्टी र राप्रपाले चार–चार जना उम्मेदवारको नाम सूचीबद्ध गरी बुझाउनुपर्नेछ।

दलहरूले पेस गरेको नाम क्लष्टरअनुसारको प्रतिनिधित्व मिलेको अवस्थामा आयोगले आजै समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ। यदि विवरण नमिलेमा सच्याउन पुनः समय दिइने सहायक प्रवक्ता जिसीले जानकारी दिए।

कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट कुल ११० जना सांसद निर्वाचित हुने प्रावधान रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *