देश

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिका लागि राति सवारी बन्द

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति गर्न सवारीसाधनको आवागमन सीमित गरिएको छ। सडकलाई पक्की बनाउन चैत पहिलो सातादेखि दुई हप्तासम्म कामलाई तीव्रता दिइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशका अनुसार उक्त सडकखण्डमा पक्की बनाउने कार्यका लागि चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाइनेछ। यस अवधिमा टिपरसहित मालवाहक सवारीसाधनलाई पूर्ण रूपमा निषेध गरिने बताइएको छ।

लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारलाई नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएपछि तीव्रता दिइएको हो। चार किलोमिटर दूरी रहेको यस सडकखण्डमध्ये चैत महिनामा २ दशमलव ५ किलोमिटर पक्की गर्ने र बाँकी भाग आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सडकखण्डमा निगरानीका लागि ‘सिसीटिभी’ जडान गर्ने तयारी पनि गरिएको कार्यालयले जनाएको छ। हाल विभिन्न स्थानमा कटिङ, साना संरचना तथा टेवा पर्खाल निर्माणको काम भइरहेको छ।

कार्यालयका अनुसार १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी सिएन एवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ। चिसो मौसमका कारण सतहको काम हुन नसकेको र तापक्रम बढेसँगै कालोपत्र गर्ने योजना रहेको इञ्जिनियर योगेशले बताए।

सात मिटर चौडाइको बन्ने उक्त सडकका पहिरो जोखिमयुक्त स्थानमा नयाँ प्रविधि प्रयोग गरी व्यवस्थापन गरिने पनि बताइएको छ।

निर्माण कार्यमा ढिलाइ हुँदा विगत तीन वर्षदेखि उक्त राजमार्गको यात्रा कठिन बन्दै आएको स्थानीयको गुनासो छ। यसअघि काम समयमा सम्पन्न नगरेपछि गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरिएको थियो।

नेपाल–चीन व्यापारिक नाका तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लासँग जोड्ने प्रमुख मार्ग भएकाले अरनिको राजमार्गको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ। सडकलाई बलियो बनाउन ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस हाल्ने तथा दुई चरणमा डिबिएम र आस्फाल्ट कालोपत्र गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *