देश

रास्वपाले भन्यो : मन्त्री चयनबारे अझै छलफल सुरु भएको छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा पार्टीभित्र औपचारिक छलफल सुरु नभएको जनाएको छ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मन्त्रीको जिम्मेवारी कसले लिने भन्ने विषयमा हालसम्म कुनै औपचारिक निर्णय वा छलफल नभएको स्पष्ट पारे।

उनका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन अझै नबुझाएकाले अहिले नै मन्त्री चयनबारे छलफल सुरु नगरेको हो।

“औपचारिक रूपमा मन्त्रीको जिम्मेवारी क–कसले लिने भन्ने विषयमा छलफल भएको छैन,” उनले भने, “निर्वाचन आयोगले अन्तिम परिणामसहितको प्रतिवेदन बुझाउन बाँकी छ। समय आएपछि यस विषयमा छलफल हुनेछ।”

प्रवक्ता झाले नयाँ सरकार गठनका लागि केही व्यवहारिक तथा संवैधानिक प्रक्रिया अझै बाँकी रहेकाले सरकार बन्न करिब १० दिनजति लाग्न सक्ने बताए। यद्यपि, सरकार गठनको तयारी भने माघ ५ गते वरिष्ठ नेता बालेन साहलाई प्रधानमन्त्री घोषणा गरिएको दिनदेखि नै सुरु भएको उनको भनाइ थियो।

यसैबीच रास्वपाले आज समानुपातिकतर्फका सांसदहरूको नाम टुंग्याउने तयारी गरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *