देश

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चमा आज सुनुवाइ

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवादसँग सम्बन्धित रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

निर्वाचन आयोगले गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिट आज पेसीमा चढेको हो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको छ। अदालत प्रशासनका अनुसार सो मुद्दा पेसी क्रम सङ्ख्या २२ मा राखिएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेपछि नेपाली कांग्रेसभित्र आधिकारिकताको विवाद चर्किएको थियो। त्यसपछि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

देउवा र खड्का पक्षको तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठमार्फत दायर गरिएको रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ। साथै विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै भंग गर्न पनि माग गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *