देश

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

बागलुङ । बागलुङ–१ अन्तर्गतको रणनीतिक सडकले गति लिन सकेको छैन । साढे दुई दशक अगाडि मार्ग (ट्रयाक) खुलेको सडकको स्तरोन्नतिको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ ।

विसं २०५७ मा अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्न मार्ग खुलेको सडकको काम अहिलेसम्म आधा पनि पूरा हुन नसकेको हो । सिगाना–तित्याङको कमलडाँडाबाट मार्ग खुलेको सडक अहिले अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा हुँदै बरेङ गुल्मीको शान्तिपुर जोडिएको छ । विसं २०८० चैतमा दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी बिडारी/तुँदी निर्माण कम्पनीले जिम्मा पाएको थियो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एसियाली विकास बैंकको रु २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको छ । समयमै सडक स्तरोन्नति नहुँदा हजारौँ यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१० का पदमबहादुर थापाले गुनासो पोखे ।

उनले भने, “बागलुङ बजार नजिकै रहेको भकुन्डे गाउँमा पुग्न डेढ घण्टा लाग्छ, सडकको दुरावस्थाका कारण वर्षौँदेखि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ, बर्खामा हिलो र हिउँदमा धुलोले हामी आजित भइसक्यौँ, यात्रा गर्दा पनि निकै जोखिमपूर्ण छ ।”

भकुन्डे हुँदै रायडाँडा जोड्ने सडको करिब ६ किलोमिटरमा मात्रै नालीको काम भइरहेको छ । बागलुङ नगरपालिकाको सबैभन्दा विकटको बस्ती रायडाँडालाई जोडेको उक्त सडकको कामले गति लिन नसक्दा यात्रा गर्न र सामान ढुवानीमा समस्या भोग्नुपरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

“गाउँमा बस्ने नागरिकलाई यो सडकका कारण ठूलो समस्या भएको छ । एक डेढ घण्टामा पुग्न सकिने ठाउँमा दुईतीन घण्टा लाग्छ, साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटनाको जोखिम पनि उस्तै छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *